Published Article

Nomination and Saying Thanks

पोखरा, ६ चैत
विदेशी भूमिमा आफूले दुःख गरेर कमाएको पैसा सामाजिक कार्यमा खर्च गर्ने व्यक्ति नेपाली समाजमा सायदै छन् । गैरआवासीय वा प्रवासी नेपालीहरूले आफ्नो मातृभूमिको समृद्धिका लागि आफ्नो तहबाट योगदान त दिइरहेकै छन् ।

तर, प्रत्यक्ष समाजसेवामार्फत् देशको सेवा गर्ने थोरै नेपालीमध्ये पर्नुहुन्छ, दुर्गा गुरुङ ‘मिलन’ । पर्वतको बाजुङमा जन्मनुभएका गुरुङ हाल हङकङमा कार्यरत हुनुहुन्छ । नेपालका विभिन्न ग्रामीण बस्तीमा सामाजिक कार्यमा आफ्नो लगानी गर्नुभएका गुरुङले संस्था नै स्थापना गरी संस्थागत रूपमै सामाजिक सेवालाई अगाडि बढाउनुभएको छ ।

विगत लामो समयदेखि समाजसेवामा सक्रिय समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले आफ्नै संरक्षकत्वमा मिलन फाउण्डेशन, नेपाल स्थापना गरी नेपाल सरकारमा दर्ता समेत गराउनुभएको छ ।

चालु आ.व. ०७१÷०७२ मै दर्ता भएको सो संस्थाको दर्तापछिको शुक्रबार सम्पन्न पहिलो बैठकले विभिन्न निर्णयहरू पनि गरेको छ । गंगाकुमारी गुरुङ अध्यक्ष रहनुभएको सो संस्थामा क्या. हितकाजी गुरुङ उपाध्यक्ष, सचिवमा खडकबहादुर गुरुङ, सह–सचिवमा कमल थापामगर र कोषाध्यक्षमा देउकी सिंजाली ‘मिलन’ रहनुभएको छ ।

त्यसैगरी, ११ सदस्यीय समितिका सदस्यहरूमा भूपेन्द्र कुँवर, गोविन्द मल्ल, गौरी थापामगर, देवीकुमारी गुरुङ, कृष्णकला केसी र सरस्वती क्षेत्री रहनुभएको छ भने सल्लाहकारहरूमा क्या. रामकाजी गुरुङ, मीनबहादुर गुरुङ र हरिबहादुर सारूमगर रहनुभएको छ ।

शुक्रबार सम्पन्न सो संस्थाको बैठकले सूचना तथा सञ्चार संयोजकमा पत्रकार रूद्रबहादुर श्रीसलाई मनोनित गरेको छ । त्यस्तै, बैठकले संस्थाको आफ्नो कार्यक्षेत्र विस्तार गर्नका लागि विभिन्न देशमा कार्यरत व्यक्तिहरूलाई सोही देशको संयोजक र सह–संयोजकका रूपमा चयन समेत गरेको छ । जसमा साउदी अरेबियाको संयोजकमा नारायण क्षेत्री, कतारको संयोजकमा ओमप्रकाश शर्मा र सह–संयोजक कृष्ण सुवेदी, इजरायलको संयोजकमा उजेली गुरुङ र सह–संयोजकमा कुमारी गुरुङ, जापानको संयोजकमा हिमाल केसी, अफगानिस्तानको संयोजकमा रेशमबहादुर मल्ल, मकाउको संयोजकमा कृष्ण सुनार र संयुक्त राज्य अमेरिकाको संयोजकमा चन्द्र मल्ललाई चयन गरेको छ ।

साथै, सो बैठकले विशेष कामका शिलशिलामा हङकङ जान लाग्नुभएका अध्यक्ष गंगाकुमारी गुरुङलाई बिदाइ समेत गरेको छ । अध्यक्ष गुरुङले आफ्नो अनुपस्थितिमा संस्थाको गतिविधि सञ्चालनका लागि उपाध्यक्ष क्या. हितकाजी गुरुङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत सुम्पिनुभएको छ ।

त्यस्तै, बैठकले संस्था दर्ताका क्रममा र पर्वतको क्याङमा भएको आँखा शिविर सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्ति एवं संघसंस्थाहरूलाई धन्यवाद ज्ञापन समेत गरेको छ । त्यसैगरी, बैठकले निकट भविष्यमा नै पर्वतको बाजुङ–६, खोलाखेतमा सिलाइ मेसिन वितरण गर्ने र पाल्पाको फोक्सिङकोट–९, सुरुमडाँडास्थित महेन्द्र निमाविलाई युरोगार्ड वितरण तथा वृक्षारोपण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । ती दुई कार्यक्रमका लागि क्रमशः सदस्य भूपेन्द्र कुँवर र कोषाध्यक्ष देउकी सिंजाली ‘मिलन’लाई जिम्मेवारी पनि दिइएको छ ।

- रूद्र श्रीसमगर


© 2017-2024 Milan Foundation Nepal. All Rights Reserved.
Tel.: +977-067-420986 | Email: info@milanfoundationnepal.org
Find us on Facebook Follow us on Twitter Watch videos on YouTube